वीरगञ्ज, २३ जेठ । पर्सा प्रहरीले स्रोत नखुलेको ३ लाख अवैध रकमसहित १ जनालाई वीरगञ्जबाट पक्राउ गरेको छ । वीरगञ्ज महानगरपालिका वडा नम्बर ६ बस्ने ३९ वर्षीय अमित कुमार गुप्तालाई वीरगञ्ज महानगरपालिका वडा नम्बर १६ ईनर्वाचोकबाट प्रहरीले पक्राउ गरेको हो ।
सूचना परिचालन र प्रहरी कारवाहीको सिलसिलामा भारत रक्सौलबाट ना २८ प ५७५ नम्बरको मोटरसाइकलमा वीरगञ्ज बसपार्कतर्फ आउँदै गरेको अवस्थामा शंका लागि चेकजाँच गर्दा गुप्ताले लगाएको अण्डरवेयरमा लुकाईछिपाई राखिएको ३ लाख रकम प्रहरीले फेला पारेको हो ।
बरामद रकम नियन्त्रणमा लिई मोटरसाइकलसहित गुप्तालाई पक्राउ गरी बैंक तथा बित्तीय संस्था सम्बन्धी कसुरमा आवश्यक अनुसन्धान अघि बढाइएको पर्साका प्रहरी प्रवक्ता एवम् प्रहरी नायब उपरिक्षक ओमप्रकाश खनालले बताए ।