वीरगञ्ज, बैशाख ८ – वीरगञ्जस्थित ठाकुरराम बहुमुखी क्याम्पसको क्वारेन्टाइनमा रहेका भारतीय नागरिकहरु मध्येका केहिलाई शोमबार आवश्यक स्वास्थ्य चेकजाँच गरि आफन्तहरुको जिम्मा लगाईएको छ ।
ठाकुरराम क्याम्पसको शिक्षा संकायको भवनमा बनाईएको क्वारेन्टाइनमा रहेका १ सय ८९ भारतियाहरु मध्ये १ सय २२ जनालाई आज प्रहरी र प्रशासनको रहबरमा आफन्तलाई जिम्मा लगाइएको हो । बाकि रहेका ६७ भारतीयहरुलाई भने ठाकुररामबाट सारेर एमबी केडीया डेन्टल कलेजमा लगिएको छ ।
फिर्ता भएका सबै भारतियाहरुलाई विगत १४ दिन देखि प्रहरी र स्वास्थ्यकर्मीको निगरानीमा राखिएको थियो । आज उनीहरुको आवश्यक स्वास्थ्य चेकजाँच गरि घर फिर्ता पठाईएको ग्रिन सिटि समुदायका अध्यक्ष प्रकाश खेतानले बताए ।
बाकि रहेका भारतियाहरुको नेपालमा कोहि आफन्त नभएको कारण अहिले क्वारेन्टाइनमै राखिएको ग्रिन सिटि समुदायका प्रवक्ता मुकेश खेतानले जानकारी दिए । उनले बाकि रहेका भारतीयहरुको खानालगयातका अन्य व्यवस्था आफुले निरन्तर गर्ने जनाए ।
देशका विभिन्न ठाउँमा कार्यरत मजदुरलगयातका भारतीयहरु पर्साका नाकाहरुबाट घर फिर्ता जान खोज्दा केहि दिन अगाडि उनीहरुलाइ प्रहरीले पक्राउ गरि ठाकुरराम क्याम्पसको होल्डमा राखेको थियो । होल्डमा रहेका सबैको खाना र बसोबासको व्यस्था जिल्ला प्रशासन कार्यालय पर्साको नेतृत्वमा ग्रीन सिटी र रूंगटा वेलफेयर सोसाइटीले गर्दै आएको रुङ्गटा वेलफेयर सोसाइटीका सुरेश रुङ्गटाले बताए ।