२० असार, काठमाडौं । उपत्यकाको ढलमा कोभिड १९ को भाइरस फेला परेको छ । उपत्यकाभित्रका ४ ठाउँका ढलको नमुना परीक्षण गर्दा २ ठाउँमा कोभिड १९ को भाइरस फेला परेको हो।
सेन्टर फर मलिकुलर डायनामिक्स (सीएमडीएन)नेपालले गरेको ‘इन्भाइरोमेन्टल सर्भिलेन्स अफ सार्स २’ प्रारम्भिक अध्ययनले यस्तो तथ्य फेला पारेको हो । अध्ययनका लागि काठमाडौं उपत्यकाको मुख्य सहरका चार ठाउँको ढलको नमुना संकलन गरिएको थियो ।
उक्त अध्ययनले उपत्यकामा समुदायमा संक्रमण भित्रभित्रै फैलिएको देखाएको अध्ययनका लिड साइन्टिस्ट डाक्टर दिवेस कर्माचार्यले बताए । उनका अनुसार अन्य देशका अध्ययनहरूले कोरोना संक्रमित मानिसको दिसामा पनि कोभिड–१९ गराउने सार्स २ भाइरस हुन्छ भन्ने तथ्य फेला पारेको छ । जसअनुसार केही देशमा यस्ता अध्ययनहरू भइसकेका छन् । नेपालमा पनि सोही आधारमा अध्ययन गरिएको उनले बताए ।
‘नेपालमा पनि संक्रमणको दर बढ्दै जाँदा हामीले ढलको स्याम्पल ल्याएर अनुसन्धान गर्यौं, जसबाट चार ठाउँमध्ये दुई ठाउँमा कोभिड १९ को भाइरस रहेको फेला पार्यौं,’ डाक्टर कर्मचार्यले भने ।
उनले थपे, ‘कुनै एक जना व्यक्तिको दिसा ल्याएर परीक्षण गरिएको होइन्, पूरै बस्तीको ढलको नमुना ल्याइएको हो, पूरै बस्तीका मानिसमध्ये जसलाई पनि (धेरैलाई, तर सबैलाई होइन)संक्रमण हुन सक्छ ।’
यो अध्ययनले समुदायमा संक्रमण फैलिइसकेको र परीक्षणको दायरा नपुगेको देखाउने डाक्टर कर्माचार्य बताउँछन् । यसरी अध्ययन गर्दा संक्रमण फैलिइएको क्षेत्रको पहिचान हुने उनी बताउँछन् । जसको कारण समुदायमा संक्रमण पत्ता लगाउन परीक्षण गर्दा किटहरू समेत बचत हुनेछ ।