११ साउन, विराटनगर । विराटनगरमा समुदायस्तरमा कोरोना संक्रमण फैलिएको स्थानीय प्रशासनले निष्कर्ष निकालेको छ । विराटनगर महानगरपालिकाभित्र बुधबारयता ११ जनामा संक्रमण पुष्टि भएको छ । संक्रमित चार जनाको ट्राभल हिस्ट्री र संक्रमण स्रोत भेटिएको छैन ।
बुधबार प्रदेश प्रहरी कार्यालय विराटनगरमा कार्यरत प्रहरी कर्मचारी, विराटनगर अस्पतालका सञ्चालक चिकित्सक र विराटनगर- ६ का एक पुरुषलाई संक्रमण पुष्टि भएको थियो ।
बिहीबार प्रदेश प्रहरी कार्यालयमा कार्यरत थप ४ जना प्रहरी कर्मचारी र शुक्रबार विराटनगर- ४ का एक पुरुषमा संक्रमण पुष्टि भएको थियो । शनिबार थप तीन जनामा संक्रमण देखिएको थियो ।
बुधबार संक्रमण पुष्टि भएका चिकित्सक र प्रहरीमा कोरोना संक्रमणको स्रोत भेटिएको छैन ।
शुक्रबार कोरोना पुष्टि भएका पुरुषमा पनि ट्राभल हिस्ट्री बाहिरको छैन । शनिबार पुष्टि भएका मध्ये दुईजना विराटनगर- ६ मा बुधबार संक्रमण पुष्टि भएका व्यक्तिका श्रीमती र आमा हुन् । अर्का संक्रमित धरानबाट विराटनगर आएका चिकित्सक हुन् ।
‘अब समुदायस्तरमा कोरोना संक्रमण पुगिसक्यो,’ विराटनगर महानगरपालिका स्वास्थ्य महाशाखा प्रमुख रमेश कार्कीले भने, ‘हाम्रो स्टडीले संक्रमण समुदायमा गएको देखायो, सतर्कता अपनाउनु पर्छ, ।’
विराटनगर महानगरपालिकाले शनिबारसम्म एक हजार ७ सय ६९ जनाको पीसीआर विधिबाट कोरोना जाँच गरेको छ । तीमध्ये ४१ जनामा संक्रमण पुष्टि भएको थियो ।
मुख्यमन्त्री भन्छन् – समुदायमा पुगिसक्यो
प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले पछिल्लो घटनाक्रमले कोरोना संक्रमण समुदायस्तरमा पुगेको बताएका छन् । शुक्रबार प्रदेश सभाको बर्खे अधिवेशनको अन्तिम बैठकमा उनले समुदायस्तरमा कोरोना पुगेको बताएका हुन् ।
उनले सीमाक्षेत्र नाका प्रवेश विन्दुहरूमा नियन्त्रण गरेर समुदायमा जानबाट हदैसम्म रोकेको बताए । तर पछिल्लो समय देखिएको संक्रमणले समुदायमा पुगेको देखिएको बताए । सरकारले पीसीआर परीक्षणको दायरा बढाएको बताउँदै उनले सतर्कता अपनाउन सबैलाई आग्रह गरे ।
कोरोना संक्रमण समुदायस्तरमा पुगे पनि बजार क्षेत्रमा सतर्कता अपनाइएको छैन । सतर्कता नअपनाएको अवस्थामा जोखिम झन् बढ्ने जनस्वास्थ्य विज्ञ डाक्टर नवराज सुब्बा बताउँछन् ।
‘पछिल्ला संक्रमणहरुले कोरोना समुदायस्तरमा पुगेको देखाउँछ,’ उनी भन्छन्, ‘व्यक्तिगत सावधानी अपनाइएन भने जोखिम झन् बढ्छ ।’
सरसफाइ र सतर्कतामा विषेश ध्यान दिनुपर्ने उनको भनाइ छ । समुदायस्तरमा कोरोना फैलिए पुनः लकडाउन गर्नुपर्ने हुनसक्ने उनले बताए ।
संक्रमण बढ्न थालेपछि सुरक्षा सतर्कताका लागि के गर्ने भन्ने विषयमा छलफल भइरहेको जनस्वास्थ्य माहाशाखा प्रमुख रमेश कार्कीले बताए ।
संक्रमित व्यक्ति विराटनगर बजार डुले
शुक्रबार कोरोना संक्रमण पुष्टि भएका विराटनगरका एक व्यक्ति बजार डुलेको पाइएको छ । बुधबार विराटनगर-४ का एक पुरुषमा संक्रमण पुष्टि भएको थियो ।
संक्रमित व्यक्ति कोरोना जाँचका लागि स्वाब संकलन गरेर विराटनगरको कञ्चनबारी र आसपासको बजार पसलमा पुगेको विराटनगर महानगरपालिका जनस्वास्थ्य महाशाखा प्रमुख कार्कीले बताए ।
उनले भने, ‘स्वाब संकलन गर्दा हामीलाई जानकारी थिएन, संक्रमण पुष्टि भएपछि प्रदेश जनस्वास्थ्य ल्याबले कन्ट्रयाक ट्रेसिङ गर्न भन्यो,’ कार्कीले भने, ‘संक्रमित व्यक्ति बजार डुलेका रहेछन् ।’
संक्रमित व्यक्तिको परिवारका तीनजना सदस्यलाई क्वारेन्टाइनमा राखिएको उनले बताए ।
onlinekhabar