वीरगञ्ज १ भदौं । पर्सामा थप ९२ जनामा संक्रमणको पुष्टि भएको छ । पर्साको वीरगञ्ज महानगरपालिका, पोखरिया नगरपालिका, जगरनाथपुर गाउँपालिका र सखुवाप्रसौनी गाउँपालिकाकागरी थप ९२ जनामा संक्रमणको पुष्टि भएको नारायणी अस्पतालले जनाएको छ ।
नारायणी अस्पतालको प्रयोगशालामा पीसीआर किटको अभाव भएपछि गत श्रावन २७ गते ११ सय भन्दाभन्दा बढी स्वाब परिक्षणको लागि काठमाडौं पठाइएको थियो । विभिन्न पालिकाको क्वारेन्टाइनमा रहेका तथा कन्ट्याक्ट ट्रेसिङमा परेकाको स्वाब परीक्षणका लागि राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला, टेकु पठाइएकोमा आईतबार साँझ रिपोर्ट प्राप्त भएको हो ।
वीरगञ्ज महानगरपालिकाका ३८ जनामा संक्रमणको पुष्टि भएको छ । गत श्रावन २६ गते वीरगञ्ज महानगरपालिका वडा नं. ११ श्रीपुरमा गरिएको स्वाब संकलन गराएका मध्ये ११ जना र श्रावन २७ गते त्रिजुद्ध स्कुलमा गरिएको स्वाब संकलन गराएका व्यक्तिहरुमध्ये २७ जनामा कोरोना पुष्टि भएको हो ।
आइतबार साँझ प्राप्त रिपोर्टअनुसार पोखरियाका ३३ जनामा कोरोना पुष्टि भएको छ । पोखरिया नगरपालिकाका मेयर दिप नारायण रौनियारसहित उनको परिवारका ८ जना, पोखरिया अस्पतालका मेडिकल सुपरिटेन्डेन्टसहित ६ जना स्वास्थ्यकर्मीमा पनि कोरोना संक्रमणको पुष्टि भएको छ । संक्रमित हुनेमा एक जना पत्रकार पनि छन् । पोखरिया नगरपालिकाका एक वडा अध्यक्षमा संक्रमण पुष्टि भएपछि गत श्रावन २६ गते मेयर रौनियारसहति उनी निकटका व्यक्तिहरुको स्वाब संकलन गरी परिक्षणका लागि पठाइएको थियो ।
त्यस्तै, जगरनाथपुर गाउँपालिकामा ४ स्वास्थ्यकर्मीसहित १५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । उक्त गाउँपालिकामा श्रावन २७ मा स्वाब संकलन गरिएको थियो ।
यसैगरी, सखुवाप्रसौनी गाउँपालिकामा ६ जनामा कोरोना पोजेटिभ देखिएको छ । त्यहाँ श्रावन २६ मा स्वाब संकलन गरिएको थियो । सखुवा प्रसौनी गाउँपालिकाको वडा नामबार ६ का वडाध्यक्ष लालबहादुर यादवसहित ४ स्वास्थ्यकर्मी र अन्य एक जना रहेको गाउँपालिका स्वास्थ्य संयोजक राजेश रौनियारले बताए ।
उनका अनुसार संक्रमित हुनेमा २ महिला स्वास्थ्यकर्मी पनि रहेका छन् । एक जना लखनपुर स्वास्थ्य चौकीका इन्चार्ज हुन भने एक जना महुवन स्वास्थ्य चौकीका स्वास्थ्यकर्मी हुन् । २ पुरुष स्वास्थ्यकर्मीमा पनि एक जना महुवन र एक जना लखनपुर स्वास्थ्य चौकीमा कार्यरत स्वास्थ्यकर्मी हुन् ।
यस्तै, संक्रमित हुनेमा वडा नं. ४ देउरवाना एक जना पुरुष पनि रहेको स्वास्थ्य संयोजक रौनियारले जानकारी गराए ।