वीरगञ्ज २१ पुष । सर्लाहीमा मोटरसाइकलको ठक्करबाट एउटा हरिणको मृत्यु भएको छ ।
बारामा कारको ठक्करबाट बाघको मृत्यु भएको एक हप्ता नबित्दै सर्लाहीको बाग्मती नगरपालिका वडा नम्बर ३ स्थित नयाँरोड–बरहथवा सडक खण्डमा मोटरसाइकलको ठक्करबाट हरिणको मृत्यु भएको हो ।
उत्तरबाट दक्षिणतर्फ जाँदै गरेको प्रदेश १–०२–०४२ प ४००९ नम्बरको मोटरसाइकलले ठक्कर दिँदा हरिणको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।
हरिणलाई सोमबार राति ठक्कर दिएपछि मोटरसाइकल पल्टिँदा त्यसका चालक सप्तरीको कञ्चनपुर नगरपालिका वडा नम्बर ११ बस्ने २२ वर्षीय सुनिल थापा सामान्य र पछाडि सवार सर्लाहीको हरिपुर नगरपालिका वडा नम्बर १ बस्ने २५ वर्षीय शिव कुमार महतोको टाउको र वायाँ कुममा चोट लागेको छ ।
प्रहरीले मोटरसाइकल र मृतक हरिणलाई इलाका वन कार्यालय मुर्तीयाको टोलीलाई जिम्मा लगाइ पठाईएको जनाएको छ ।
दुबै घाइतेको हनुमन्ते अस्पताल बरहथवामा उपचार भइरहेको सर्लाहीका प्रहरी प्रजक्ता मदन कुँवरले जानकारी दिए ।
yatradaily