२ वैशाख, काठमाडौं । अबदेखि इन्टरनेटबाटै घरजग्गाको नक्सा हेर्न र आफैं प्रिन्ट गर्न मिल्ने भएको छ । नापी विभागमा बिहीबार आयोजित औपचारिक समारोहबाट प्रधानमन्त्री केपी शर्मा ओलीले यो व्यवस्थाको शुभारम्भ गर्ने छन् ।
यो व्यवस्था कार्यान्वयनमा आएपछि आफ्नो घर जग्गाको नक्सा प्रिन्ट गर्न र त्यसवाफतको शुल्क बुझाउन कार्यालय धाइरहनु नपर्ने विभागले जनाएको छ । ‘मेरो कित्ता डट जिओभी डट एनपी’ लगइन गरेर यो सेवा लिन सकिने विभागका अधिकारीको भनाइ छ ।
नापी विभागका सूचना अधिकारी दामोदर ढकालले सेवाग्राहीलाई सहजरुपमा छिटोछरितो सेवा दिन तथा प्रविधिमैत्री बनाउन यो सेवा सुरु गरिएको बताए ।
कहाँ-कहाँ लागू हुन्छ ?
सूचना अधिकारी ढकालका अनुसार बिहीबार यो सेवा काठमाडौं उपत्यकाका डिल्लीबजार, कलंकी र भक्तपुरको कार्यालयमा लागु हुने छ । त्यसपछि क्रमशः देशभर कार्यान्वयनमा ल्याइने विभागले जनाएको छ ।
‘आजै सेवा पाउने भनेको डिल्लीबजार, कलंकी र भक्तपुरबाट हो,’ सूचना अधिकारी ढकालले अनलाइनखबरसँग भने, ‘एक हप्ताभित्र काठमाडौं उपत्यकाभरी र त्यसपछि क्रमशः देशैभरका १२६ वटा नापी कार्यालयबाट मेरो कित्ता सेवा सुरु हुन्छ ।’