वीरगञ्ज, बैशाख २७ – वीरगञ्जस्थति नारायणी अस्पतालमा पुन: जनरल सेवा सञ्चालन हुने भएकाे छ । वीरगञ्जको बहुवारीस्थित गण्डक अस्पताललाई कोभिड अस्पतालमा परिणत गरेर नारायणी अस्पतालको जनरल सेवा सुरु गर्ने लागिएको हो ।
नारायणी अस्पतालमा रहेका कोरोन सङ्क्रमितहरुलाई भोलि सम्म गण्डक अस्पतालमा सिफ्ट गरेर नारायणी अस्पतालको जनरल सेवा पुन: सुरु गर्ने निर्णय भएको महानगरपालिकाका मेयर विजयकुमार सरावगीले बताए ।
वीरगञ्ज महानगरपालिका कार्यालयमा शनिबार मेयर सरावगी, नारायणी अस्पतालका मेडिकल सुपरटेण्डेण्ट डा. मदन उपाध्याय र स्वास्थ्य मन्त्रलयबाट आएको टोलिसँग भएको बैठकले नारायणी अस्पतालको जनरल सेवा पुन: सूचारु गरि गण्डकलाई कोभिड अस्पताल बनाउने निर्णय गरेको हो ।
शनिबार भएको बैठकले नारायणीमा अस्पताललाई डिसिन्फ़ेक्ट गरेर भोलि पर्सि सम्म जनरल सेवा सुरु गर्ने निर्णय गरेको मेयर सरावगीले बताए । ‘नारायणी अस्पतालमा रहेका सङ्क्रमितलाई भोलि सम्म गण्डकमा सिफ्ट गरेर पहिला नारायणी अस्पताललाई पूर्ण रुपले डीसइन्फ़ेक्ट गर्ने छौँ अनि एकदुई दिनमा जनरल सेवा पुन: सुरु हुनेछ ।’ मेयर सरावगीले भने ।
नारायणी अस्पतालको प्राबिधिक ब्यवस्थापन र नेशनल मेडिकल कलेज र वीरगञ्ज महानगरपालिकाका पच्चीस-पच्चीस प्रतिशत जनशक्ति रहने र नारायणी अस्पतालकाे ५० प्रतिशत जनशक्ति गरी गण्डक अस्पतालमा काेविड सङ्क्रमितकाे उपचारकाे व्यवस्था गर्ने निर्णय पनि भएकाे मेयर सरावगीले भने ।
यसकाे संयाेजनकाे जिम्मा भने वीरगञ्ज महनगरले लिने निर्णय भएकाे महानगरपालिकाका मेयर विजयकुमार सरावगीले जानकारी दिए ।