मोरङ वैशाख २८— कोसी अस्पताल कोभिड १९ उपचार केन्द्रमा रहेका थप दुई जना कोरोना संक्रमित निको भएर आइतबार घर फर्केका छन् । भोजपुरको हतुवागढी गाउँपालिका ६ लाङ्खाका २६ वर्षीय उपेन्द्र राई र झापाको बाह्रदशी गाउँपालिकाका ४० वर्षीय मजाहिर आलम कोरोनामुक्त भएका हुन् ।
उनीहरुलाई घरमै क्वारेन्टाइनमा बस्ने गरी डिस्चार्ज गरिएको कोसी अस्पतालकी मेडिकल सुपरीटेन्डेन्ट डा. संगीता मिश्रले बताइन् ।
राई वैशाख १३ र आलम १४ गते कोरोना संक्रमित भएर उपचार केन्द्रमा भर्ना भएका थिए । प्रदेश १ मा उदयपुरको भुल्केका ३२, भोजपुरको हतुवागढीका १, झापा दमक र बाह्रदशीका २ गरी ३५ जना कोरोना भाइरस संक्रमित भएका छन् । जसमध्ये हालसम्ममा भुल्केका १४ सहित १६ जना कोरोनामुक्त भएर घर फर्किसकेका छन् । उपचार केन्द्रमा हाल १९ जना संक्रमित छन् ।