वीरगञ्ज १३ कात्तिक । मुकेश चौरसियाको हत्यामा मुख्य योजनाकार भनिएका पूर्व संविधानसभा सदस्य एवम् नेकपाका नेता राजकुमार गुप्ता विरुद्ध मुद्दा दर्ता भएको छ ।
जिल्ला प्रहरी कार्यालय पर्साले उनि विरुद्ध मुद्दा दर्ता गर्न नमानेपछि पिडित पक्षले सरकारी वकिलको कार्यालय मार्फत कर्तव्य ज्यान मुद्दा दर्ता गराएको हो । गुप्तासहित १२ जना विरुद्ध मुद्दा दर्ता भएको जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी नायव उपरीक्षक एवम् प्रवक्ता मनोजित कुँवरले पुष्टि गरे ।
गत बिहिबार नेकपा जिल्ला कमिटिले आयोजना गरेको विन्दवासिनी गाउँपालिका कमिटिको सपथ ग्रहण कार्यक्रममा झडप हुँदा पार्टीको गाउँपालिका सचिव मुकेश चौरसियाको निधन भएको थियो ।
सपथ ग्रहणमा आफूलाई नसमेटीएको पक्षले विवाद गर्दा झडपमा परेर मुकेश घाइते भएका थिए । उनको वीरगञ्जस्थित एलएस न्युरो अस्पतालमा उपचारको क्रममा शुक्रवार मृत्यु भएको थियो ।
मुकेशको मृत्यु पश्चात उनका परिवारका सदस्यले राजकुमार गुप्तासहित १२ जना विरुद्ध कर्तव्य ज्यान मुद्दा दर्ता गराउन किटानी जाहेरी लिएर गएपनि प्रहरीले उनीहरुको मुद्दा दर्ता गरेको थिएन । गुप्तालगायत केहि व्यक्तिहरु कार्यक्रममा उपस्थित नभएपनि उनीहरुको नाम जाहेरीमा समावेश गरेर ल्याइएको कारण मुद्दा दर्ता गर्न नमिल्ने पर्सा प्रहरीले बताउँदै आएको छ ।
मुद्दा दर्ता नहुँदा शुक्रबारदेखिनै वीरगञ्जमा पिडित पक्षले आन्दोलन गर्दै आएका थिए । पिडित पक्षका अनुसार गुप्ताले प्रहरीमाथि राजनीतिक दवाव सृजना गरेको कारण उनि विरुद्ध प्रहरीले मुद्दा दर्ता गर्न मानेको थिएन ।
आज मुकेशको मृत्यु भएको सातौँ दिन सरकारी वकिलको कार्यालय मार्फत गुप्तासहित १२ जना विरुद्ध मुद्दा दर्ता गरिएको पिडित पक्षले जनाएका छन् । सरकारी वकिलको कार्यालयबाट गएको निवेदन प्रहरीले दर्ता गरिसकेको छ ।
प्रहरीले अहिले ३ जनालाई हिरासतमा राखेको छ भने केहि अहिलेपनि फरारा रहेका छन् ।