वीरगञ्ज, २४ बैशाख । वीरगञ्ज महानगरपालिकाले १ सय वेड क्षमताको अस्थायी कोभिड अस्पताल र १ सय वेड क्षमताको आइसोलेशन सेन्टर आजदेखि औपचारिक रुपमा संचालनमा आएको छ ।
जिल्ला संकट व्यवस्थापन केन्द्र (डिसिसिएमसी) पर्साको मंगलवार सम्पन्न बैठकले महानगरपालिकामा अस्थायी कोभिड अस्पताल र आइसोलेशन सेन्टर संचालन गर्ने निर्णय गरेको थियो ।
वीरगञ्जमा कोभिड संक्रमितहरुको संख्या वढदो अवस्थामा रहेको र संक्रमित व्यक्तिहरुमा अक्सिजन दिनु पर्ने अवस्था देखिएकाले वीरगञ्जमा रहेका अस्पतालमा उपचार गर्ने ठाउँ समेत नभएको अवस्थामा महानगरपालिकाका नगरप्रमुख विजयकुमार सरावगीले आफ्ना नागरिकको जिवन रक्षाका लागि कोभिड अस्पताल र आइसोलेशन सेन्टर संचालन गरेका हुन् ।
होम आइसोलेशनमा अक्सिजन प्रयोग गरिरहेका विरामीहरुको अवस्था समेत जटिल वन्न थालेकोले डाक्टरको निगरानीमा उपचार गर्न महानगरपालिकाले कोभिड अस्पताल संचालन गर्न लागेको प्रमुख सरावगीको भनाई छ ।
कोभिड अस्पतालमा उपचारार्थ भर्ना भएका संक्रमितहरुलाई अक्सिजन, औषधी र खाजा, खाना समेत महानगरपालिकाले निशुल्क रुपमा उपलब्ध गराउने प्रमुख सरावगीले वताए । वीरगञ्ज महानगरपालिकाले केही दिन अघि मात्र एम्वुलेन्स, शव वाहन सेवा संचालनमा ल्याएको छ ।