मार्चको सुरुवातमा नयाँदिल्लीस्थित निजामुद्दिनमा मुस्लिम संस्था तबलिगी जमातको हेडक्वार्टरमा आयोजित धार्मिक सभामा सहभागी सप्तरीका तीन जना घर फर्किएका हुन् । उनीहरुलाई घरमा लुकेर बसिरहेको अवस्थामा प्रहरीले फेला पारेको छ ।
बुधबार राजविराज नगरपालिका ४ स्थित मिनी मार्केट अगाडि घर भएका तीन जनालाई फेला पारिएको सप्तरीका प्रहरी प्रमुख एसपी कृष्ण प्रसाइँले जानकारी दिए । उनकाअनुसार तीनै जनालाई घरबाट फेला पारी क्वारेन्टाइनमा पठाइएको छ ।
फेला परेका तीनै जना सप्तरीका ठूला व्यापारी रहेका छन् । उनीहरु केही दिनअघि दिल्लीबाट फर्किएको स्थानीयले बताएका छन् ।
दिल्ली जमातमा मुस्लिम समुदाय पनि सहभागी भएर फर्केको सूचना आएपछि प्रमुख जिल्ला अधिकारी सुनील खनाल, प्रहरी प्रमुख प्रसाइँ, सशस्त्र प्रहरी उपरीक्षक उद्वव न्यौपाने आफैं उनीहरुको पत्ता लगाउन खटिएका छन् ।
सप्तरी प्रहरीले दिल्ली जमातमा सहभागी भएर आएका जिल्लाका आठ जनामध्ये तीन जना फेला पारिएको र अन्य पाँच जनाको खोजी भइरहेको जनाएको छ ।
यद्यपी सप्तरीबाट दुई दर्जनभन्दा बढी व्यक्ति दिल्ली गएर फर्केको आशंका गरिएको छ । सप्तरीको बोदे बर्साइन नगरपालिकामा गत फागुन ३ देखि ५ गतेसम्म भएको मुस्लिम धार्मिक सभा सकिएलगत्तै मुस्लिम समुदायका व्यक्तिहरु जमातमा सहभागी हुन दिल्ली गएका थिए ।
दिल्लीको निजामुद्दिनमा आयोजना गरिएको जमातका सहभागीहरुमा कोरोना भाइरसको संक्रमण पोजेटिभ देखिएको र कतिपयको मृत्युसमेत भएको छ । यो जमातमा नेपाली पनि सहभागी भएको पाइएपछि प्रहरी उनीहरुको खोजीलाई तीब्र बनाएको छ ।
यो सभामा सहभागी रौहतट, बारा र पर्साका २० जना दिल्लीमै क्वारेन्टाइनमा रहेका छन् ।
onlinekhabar