महोत्तरी, २२ वैशाख:
महोत्तरीमा अज्ञात कारणबाट मृत्यु हुनेको संख्या १२ पुगेको छ । भंगहा नगरपालिका ७ हरकपुरका थप एकजनाको आइतबार मृत्यु भएसँगै मृतकको संख्या १२ पुगेको हो ।
ज्यान गुमाउनेमा हरकपुरका ५८ वर्षीय रुपनारायण सिंह दनुवार छन् । यसअघि वडा ७, ६ र बर्दिबास नगरपालिका १२ मा गरी एक ११ जनाको अज्ञात कारणले मृत्यु भएको थियो । वैशाख १६ गतेदेखि २२ गतेसम्म ६ दिनमै १२ जनाको मृत्यु भएको जिल्ला जनस्वास्थ्य कार्यालय महोत्तरीले जनाएको छ ।
उनीहरुको पोस्टमार्टम रिपोर्ट अहिलेसम्म आएको छैन । कोरोना आशंकामा दुई जनाको परीक्षण गर्दा दुबैको पीसीआर र आरडीटी रिपोर्ट निगेटिभ आएको महोत्तरीका प्रमुख जिल्ला अधिकारी सूर्यबहादुर खत्रीले जानकारी दिए ।मृतकमध्येका अधिकांशले नियमित मदिरा सेवन गर्ने गरेको पाइएकाले उनीहरुको मृत्यु पनि विषाक्त मदिराकै कारणले भएको हुन सक्ने आशंका गरिएको छ । तर, केही मदिरा नखानेको पनि मृत्यु भएपछि वास्तविक कारण खुल्न सकेको छैन ।
उनीहरूको विभिन्न कारणले मृत्यु भएको छ । मदिरा सेवन, विषाक्त सेवन, पुरानो रोग, ब्रेम हयामरेजसहित कारणले उनीहरूको मृत्यु भएको पनि प्रदेश सरकारले स्पष्ट पारेको छ ।उनीहरुको मृत्युको कारण विषयमा स्वास्थ्य कार्यालय महोत्तरी, जिल्ला विपद् व्यवस्थापन समिति महोत्तरी, ईपिडेमियोलोजी तथा रोग नियन्त्रण महाशाखा काठमाडौं टेकु र डब्ल्युएचओको टोलीले अनुसन्धान गरिरहेको छ ।
सामाजिक विकास मन्त्रालयले नियमित गर्दै आएको मिडिया ब्रिफिङका क्रममा मन्त्रालयका सचिव रामप्रसाद घिमिरेले उनीहरूको मृत्यु कोरोना भाइरसबाट नभएर अर्कै कारणले भएको जानकारी दिएका हुन् ।